बैतडी: शिक्षक आन्दोलनका कारण ग्रेडवृद्धि परीक्षा स्थगित

Image

बैतडीका चार स्थानीय तहले आधारभुत तह कक्षा ८ को ग्रेडवृद्धि परीक्षा स्थगित गरेका छन् । यहाँको पाटन, दशरथचन्द , मेलौली नगरपालिका र दोगडाकेदार गाउँपालिकाले शिक्षक आन्दोलनका कारण ग्रेडवृद्धि परीक्षा स्थगित गरेका हुन् ।

मेलौली नगरपालिकाले एक सूचना जारी गर्दै यहि वैशाख १५ र १६ गते सञ्चालन गर्ने भनिएको आधारभुत तह कक्षा ८ को पुनर्योग र ग्रेडवृद्धि परीक्षा स्थगित गरिएको जनाएको छ । शिक्षक महासंघको आन्दोलनका कारण अर्काे सूचना प्रकाशित नगर्दा सम्म परीक्षा स्थगित गरिएको निमीत्त प्रमुख प्रशासकीय अधिकृत जगदिशप्रसाद भट्टद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

दशरथचन्द नगरपालिकाले पनि शिक्षकहरुको आन्दोलनका कारण कक्षा ८ को पुनर्योग र गे्रडवृद्धि परीक्षा स्थगित गरेको छ । वैशाख १५ र १६ गतेका का लागि तोकीएको परीक्षा शिक्षक महासंघको आन्दोलनका कारण प्रभावित हुने देखीएकाले परीक्षा फारम संकलन, पुनर्योग र ग्रेडवृद्धि परीक्षा अर्काे सूचना प्रकाशीत नभए सम्मका लागि स्थगित गरिएको दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनचन्द्र पाण्डेय जानकारी दिए ।

यसैगरी बैशाख १२ र १३ गते सञ्चालन गर्ने भनिएको ग्रेडवृद्धि परिक्षा स्थगित गरिएको पाटन नगरपालिकाले जनाएको छ । यस्तै शिक्षक महासंघको आन्दोलनका कारण जिल्लाको दोगडाकेदार गाउँपालिकाले पनि आधारभुत तह कक्षा ५ र कक्षा ८ को ग्रेडवृद्धिका परीक्षा स्थगित गरेको छ । शैक्षिक सत्र २०८१ का लागि कक्षा ५ र कक्षा ८ को ग्रेडवृद्धि परीक्षा वैशाख १२ गतेदेखी सञ्चालन गर्ने भनिएको भएपनि शिक्षकहरुको आन्दोलनका कारण अर्काे सूचना जारी नहुदाँ सम्मका लागि स्थगित गरिएको दोगडाकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दराज जोशीले बताए ।

विद्यालय शिक्षा ऐन जारी गर्न ढिलाइ भएको भन्दै देशभरका शिक्षकहरूले काठमाडौं सडक आन्दोलनमा रहेका छन् । शिक्षा ऐनमा यसअघि शिक्षकहरूसँग भएका सहमतिका बुँदाहरूलाई समावेश गर्नुपर्ने आन्दोलनरत शिक्षक कर्मचारीहरूको माग छ । यसको असर विद्यार्थीमा परेको छ । शिक्षक महासंघको आन्दोलन कारण नयाँ शैक्षिकको विद्यार्थी भर्ना कार्यक्रम समेत प्रभावित बनेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्