सिगास गाउँपालिकाको बहुतले भवन, भुइतलामै रहेको आ.ले.प. कार्यकक्ष । जहाँ ढोकामाथि प्रफुल्ल मुद्रामाथि टल्किएको कालो चस्माको स्केच छ । उक्त कार्यकक्षको ढोका भित्र पस्दा देखिन्थे स्केचसँग दुरुस्तै देखिने आन्तरिक लेखा परीक्षक टिका सिंह धामी ।
अहिले यो कार्यकक्ष रित्तो छ, त्यो भन्दा बढी गाउँपालिकाले रित्तो महसुस गरेको छ ।
गाउँपालिकाको आर्थिक पारदर्शिता, सुशासन, आन्तरिक मूल्याङ्कन र अभिलेखीकरणको भूमिकाको महत्त्वपूर्ण जिम्मेवारीमा रहने गरेका टिका सिंह धामीले गाउँपालिकामा ६ वर्ष बढी सेवा गर्नुभयो । एक आर्थिक वर्षमा कार्यकारी भूमिकामा समेत रहेर काम गरिसक्नु भएका धामीको ३८ वर्षको उमेरमै निधन भएको छ ।
चैत्र १५ गते काठमाण्डौमा जटिल खालको ब्रेन ट्युमरको शल्यक्रिया गरिएकोमा त्यसको करिब २३ दिनपछि निधन भएको हो ।
सिगास गाउँपालिकामा कार्यरत कर्मचारीका मात्रै नभई सेवाग्राहीको हृदयमा समेत फराकिलो ठाउँ बनाएका धामीको निधनले सन्नाटा छाएको छ । यही वैशाख ९ गते धामीको निधन खबर पाएका सेवाग्राही समेत निराश मुद्रामा देखिने गरेका छन् ।
“६ वर्षसम्म गाउँपालिकामा महत्त्वपूर्ण जिम्मेवारीमा रहेर कुशलतापूर्वक आफ्नो जिम्मेवारीमा रहेर काम गर्नुभयो, सबै कर्मचारी, जनप्रतिनिधि र सेवाग्राहीले समेत बिर्सन नसक्ने व्यक्ति गुमाएका छौँ,” सिगास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर बोहराले भन्नुभयो ।
कामको जिम्मेवारी बाहेक कला संस्कृति, मनोरञ्जनात्मक कार्यमा समेत सबै कर्मचारी र स्थानीयसँग नजिक रहेका धामीको निधनले पालिका शोकमग्न बनेको छ ।
सिगास–३ घर भएका धामीको घरमा श्रीमती ८ वर्षीय छोरी र १८ महिनाका एक छोरा छन् ।

सिगासको एक स्तम्भ ढल्यो: कार्यकक्ष रित्तो, मनहरू अझ रित्तिए



प्रतिक्रिया जनाउनुहाेस्















