स्वास्थ्य परीक्षण अभियानअन्तर्गत १३ हजार ५३१ जनाको स्वास्थ्य परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये ८ हजार १८४ जना महिला र ५ हजार ३४७ जना पुरुष रहेका छन्।

स्वास्थ्य कार्यालय बैतडीले शनिबार जिल्ला अस्पतालको सभाहलमा सञ्चारकर्मीसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा चालु आर्थिक वर्षमा सञ्चालन भएका स्वास्थ्य कार्यक्रम, उपलब्धि तथा स्वास्थ्य परीक्षणबाट प्राप्त तथ्यांक सार्वजनिक गरेको हो।
स्वास्थ्य परीक्षणका क्रममा सबैभन्दा धेरैमा उच्च रक्तचाप (हाइपरटेन्सन) समस्या देखिएको छ। जिल्लाभर १ हजार ४१० जनामा उच्च रक्तचाप पुष्टि भएपछि उपचार सुरु गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
त्यसैगरी ८२९ जनामा मोटोपन (ओबेसिटी), ५२७ जनामा मधुमेह (डायबिटिज) र ९७ जनामा मिर्गौला रोग पहिचान भएको छ। गम्भीर प्रकृतिका स्वास्थ्य समस्या देखिएका ५०९ जनालाई थप उपचारका लागि रिफर गरिएको छ भने विभिन्न रोग पहिचान भएका १ हजार २३० जनाले उपचार सेवा प्राप्त गरेका छन्।
अन्तरक्रिया कार्यक्रममा बाल पोषणको अवस्थाबारे पनि जानकारी गराइएको थियो। स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीका अनुसार गत आर्थिक वर्षमा ६ महिनादेखि ५ वर्ष उमेर समूहका १० हजार १०३ जना बालबालिकामा गरिएको कुपोषण परीक्षणमा ११३ जनामा कडा खालको कुपोषण र ५१६ जनामा मध्यम खालको कुपोषण भेटिएको छ। कुपोषण भएका बालबालिकालाई आवश्यक पोषण तथा उपचार सेवाको पहुँचमा ल्याउने काम भइरहेको कार्यालयले जनाएको छ।
कार्यक्रममा स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जिल्लामा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्थानीय तह, स्वास्थ्य संस्था तथा सरोकारवालासँग सहकार्य र समन्वय गर्दै विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताए।
उनले स्वास्थ्यका सूचकाङ्कमा सुधार हुनु मात्र पर्याप्त नभई नागरिकले सहज, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा पाउने सुनिश्चितता गर्नु कार्यालयको मुख्य प्राथमिकता रहेको उल्लेख गरे।
स्वास्थ्य कार्यालयले सञ्चारमाध्यमसँगको सहकार्यले स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्न र समुदायसम्म सही सूचना पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत व्यक्त गरेको छ।













