बैतडी, असार २१
बैतडीको पाटन नगरपालिका–८ ले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। स्थानीय सरकार र नागरिकबीच प्रत्यक्ष संवाद स्थापना गर्दै वडा कार्यालयलाई थप पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको वडा कार्यालयले जनाएको छ।
कार्यक्रममा वडा अध्यक्ष हरिश बिष्टको सभाध्यक्षता तथा नगर प्रमुख गौरी सिंह रावलको प्रमुख आतिथ्यता रहेको थियो। विशिष्ट अतिथिका रूपमा वडा नं. ६ का वडा अध्यक्ष राजेन्द्र सिंह बिष्ट सहभागी थिए।
त्यस्तै कार्यपालिका सदस्य एवं वडा सदस्य कलावती ऐर, कृष्ण महरा, वडा सचिव सरद प्रशाद भट्ट, नेकपा नगर अध्यक्ष तथा बजार व्यवस्थापन समिति अध्यक्ष राम सिंह बिष्ट, नेपाली कांग्रेसका वडा सभापति मोहन सिंह बिष्ट, नेकपा (एमाले) वडा कमिटी अध्यक्ष वीर सिंह महरा, निवृत्त प्रहरी निरीक्षक करबिर सिंह ऐर, प्रहरी चौकी प्रमुख कृष्णराज भट्ट, सिद्धेश्वर स्वास्थ्य चौकी प्रमुख जयराज भट्ट लगायत सरोकार वाला प्रतिनिधिको सहभागिता रहेको थियो ।
कार्यक्रममा वडा सचिव सरद प्रशाद भट्टले चालु आर्थिक वर्षमा वडा कार्यालयबाट सम्पादन भएका विकास निर्माण, सेवा प्रवाह तथा प्रशासनिक गतिविधिबारे विस्तृत जानकारी गराएका थिए।
त्यसपछि आयोजित खुला छलफलमा सहभागीहरूले विकास निर्माण, सेवा प्रवाह तथा स्थानीय सरोकारका विषयमा जिज्ञासा, गुनासा र सुझाव राखेका थिए। उठाइएका प्रश्नहरूको जवाफ वडा अध्यक्ष हरिश बिष्टले दिएका थिए।
वडा अध्यक्ष बिष्टले सार्वजनिक सुनुवाइमा प्राप्त सुझाव, गुनासा र जिज्ञासालाई सकारात्मक रूपमा ग्रहण गर्दै आगामी आर्थिक वर्षमा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइने बताए। वडाबाट हालसम्म भएका सबै काम जनभावना र जनअपेक्षाअनुसार सञ्चालन हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि नागरिकको सुझावलाई प्राथमिकतामा राखेर काम गरिने प्रतिबद्धता व्यक्त गरे।
प्रमुख अतिथि नगर प्रमुख गौरी सिंह रावलले वडा कार्यालयले सार्वजनिक सुनुवाइ आयोजना गरेर सुशासन, पारदर्शिता र जवाफदेहिताको उदाहरण प्रस्तुत गरेको बताए। यस्ता कार्यक्रमले स्थानीय सरकार र नागरिकबीचको विश्वास तथा सहकार्यलाई अझ बलियो बनाउने उनको भनाइ थियो।
कार्यक्रमका अवसरमा वडा स्तरीय कक्षा ५ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने प्रथम, द्वितीय र तृतीय विद्यार्थीलाई सम्मान गरिएको थियो। साथै लामो समयदेखि स्वास्थ्य सेवामा योगदान पुर्याउँदै आएका महिला स्वास्थ्य स्वयंसेविकाहरू तथा वडा सचिव सरद प्रशाद भट्टलाई पनि सम्मान गरिएको थियो।













