बझाङको बित्थडचिर गाउँपालिकाले १ सय १० जना करार कर्मचारी हटायो

Image

बझाङ: बझाङको बित्थडचिर गाउँपालिकाले विभिन्न शाखामा कार्यरत १ सय १० जना करार कर्मचारीको सेवा अवधि आगामी श्रावण महिनादेखि नथप्ने निर्णय गरेको छ।
गाउँपालिकाको कार्यपालिका बैठकले आन्तरिक स्रोतको अभाव तथा संघीय सरकारको निर्देशनलाई आधार मान्दै उक्त निर्णय गरेको जनाएको हो।

संघीय सरकारले स्वीकृत दरबन्दीभन्दा बाहेकका कर्मचारी नराख्न स्थानीय तहलाई निर्देशन दिएपछि सोही अनुरूप निर्णय गरिएको गाउँपालिकाको भनाइ छ।
गाउँपालिकाका अनुसार सीमित आर्थिक स्रोतका कारण करार कर्मचारीको तलबभत्ता व्यवस्थापन गर्न कठिन भएपछि सेवा अवधि नथप्ने निर्णय गरिएको हो। म्याद नथपिने कर्मचारीमा शिक्षक, प्राविधिक, प्रशासन सहायक, मनोसामाजिक परामर्शकर्ता लगायत विभिन्न क्षेत्रमा कार्यरत करार कर्मचारी रहेका छन्।

यो निर्णयसँगै ती कर्मचारीहरूको सेवा आगामी श्रावण महिनादेखि समाप्त हुने भएको छ। गाउँपालिकाले आर्थिक अनुशासन, कानुनी व्यवस्था र सुशासनलाई प्राथमिकता दिँदै निर्णय गरिएको जनाएको छ।

यद्यपि, यस निर्णयले करार कर्मचारीहरूको रोजगारीमा प्रत्यक्ष असर पर्ने देखिएको छ। उता, केही स्थानीयवासीले भने सीमित स्रोत–साधन र कानुनी व्यवस्थालाई ध्यानमा राखी गरिएको निर्णयलाई आर्थिक अनुशासन र सुशासन कायम गर्ने सकारात्मक कदमका रूपमा स्वागत गरेका छन्।

प्रतिक्रिया जनाउनुहाेस्