बैतडीको पुर्चाैडीलाई पूर्णखोप सुनिश्चिता तथा दिगोपना नगरपालिका घोषणा

Image

बैतडी: बैतडीको पुर्चाैडी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको छ ।

“स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागीता, पूर्ण खोप सुनिश्चित हाम्रो प्रतिबद्धता” भन्ने नारासहित मंगलबार खोप नगरस्तरिय समन्वय समितिले पुर्चाैडीलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको हो ।

पाँच वर्षमुनिका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप एकिन भैसकेपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख विनोद कुमार कुवँरले जानकारी दिनुभयो ।

यसअघि नगरपालिकाका १० ओटै वडाहरुलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना वडा घोषणा गरिएको थियो । बालबालिकाहरुलाई विभिन्न १३ ओटा रोगविरुद्ध खोप दिने गरिएको छ ।

यस्तै नगरपालिकाले १० जना स्वास्थ्यकर्मी,  १० जना महिला स्वास्थ्य स्वयसेविका र स्वास्थ्य शाखाका कार्यालय सहयोगी सुरेन्द्र बहादुर बोहरालाई सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख कुवँरले बताउनुभयो । पूर्ण खोप सुनिश्तिता तथा दिगोपना पालिका घोषणा गर्नमा महत्वपुर्ण भूमिका खेलेको भन्दै उनीहरुलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले पूर्णखोप सुनिश्चित तथा दिगोपनाका लागि हरेक वर्ष राष्ट्रिय खोप तालिका अनुसार पाँच वर्षमुनिका बालबालिकाहरुले खोप पाए नपाएको एकिन गर्न घरधुरी सर्वेक्षण गर्दै आएको छ। छुटेका भए उनीहरुलाई खोपको दायरामा ल्याएपछि मात्रै पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गर्ने प्रावधान रहेको छ ।

पालिका खोप समन्वय समिति संयोजक एवम् पुर्चौडी नगरपालिकाका नगर प्रमुख दिपक बहादुर बमको अध्यक्षतामा सम्पन्न उक्त घोषणा सभामा जिल्ला समन्वय समिति बैतडीका प्रमुख खगेन्द्र सिंह धामी प्रमुख अतिथि रहनुभएको थियो।  विशिष्ट अतिथिमा पुर्चौडी नगरपालिका उपप्रमुख मिना धानुक, प्रमुख प्रशासकीय अधिकृत सरोज प्रसाद पोखरेल, उपसचिव वीर बहादुर नेपाली र जिल्ला स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य अधिकृत घनश्याम ओझा रहनुभएको थियो।

प्रतिक्रिया जनाउनुहाेस्