बैतडी: बैतडीको पुर्चाैडीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको प्रयोग गरि निःशुल्क क्षयरोग खोजपड्ताल शिविर सञ्चालन गरिएको छ । एआई प्रविधिको प्रयोग गरि ग्रामीण क्षेत्रमा रहेका क्षयरोगका बिरामी खोज्न खोजपड्ताल शिविर सञ्चालन गरिएको हो ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोद कुमार कुँवरले शिविर मार्फत ३५६ जनाकोे एआई प्रविधिको प्रयोग गरि छातीका एक्सरे गरिएको बताउनुभयो । परीक्षणका क्रममा शंकास्पद ७१ जनाको जिन एक्सपर्ट नमुना संकलन गरि परीक्षणका लागि पठाइएको उहाँले जानकारी दिनुभयो ।
“सामान्य एक्सरेमा नदेखिने सूक्ष्म समस्या यो प्रविधिले तत्काल पहिचान गर्ने हुनाले उपचार प्रक्रिया सहज भएको छ । त्यसका लागि डिजिटल कम्प्युटर प्रणालीले एक्स–रे विश्लेषण गरेर सम्भावित क्षयरोग पहिचान गर्छ।”,स्वास्थ्य शाखा प्रमुख कुँवरले भन्नुभयो, “यसले परम्परागत रूपमा खकार परीक्षण गर्नुअघि नै जोखिम भएका बिरामी छुट्याउन सहयोग गर्छ ।”
चिकित्सकसहितको पोर्टेबल एक्सरे मेसिनको प्रयोग गरि क्षयरोगको खोजपड्ताल शिविर गरिएको नगरपालिकाले जनाएको छ । एआई प्रविधिको प्रयोगबाट दुर्गम क्षेत्रमा रहेका क्षयरोगी पहिचानका लागि सहज हुने र स्वास्थ्यकर्मीलाई झन्झटिलो नहुने पनि बताइएको छ।
नगरपालिकाको आयोजना र स्वास्थ्य निर्देशनालयको प्राविधिक सहयोगमा हाट स्वास्थ्य चौकीमा आइतबार खोजपड्ताल शिविर सञ्चालन गरिएको हो । नेपाल सरकारले सन् २०५० सम्म नेपाललाई क्षयरोगमुक्त बनाउने लक्ष्य राखेको छ । यो लक्ष्य हासिल गर्न एआई प्रविधिको प्रयोग प्रभावकारी बन्दै गएको कुँवरको भनाई छ ।





















