बैतडीको पाटनका १७ ओटा माध्यमिक विद्यालयलाई खेलकुद सामग्री वितरण

Image

बैतडी: बैतडीको पाटन नगरपालिकाले माध्यमिक विद्यालयहरुलाई खेलकुद सामग्री वितरण गरेको छ। सोमबार विद्यार्थीहरुको खेलकुदप्रति रुचि बढाउन नगरपालिकाले १७ ओटा माध्यमिक विद्यालयलाई खेलकुद सामग्री वितरण गरेको हो ।

नगरपालिकाको चालु आर्थिक बर्षको बार्षिक स्वीकृत कार्यक्रम अनुसार ‘युवासँग नगर उपप्रमुख कार्यक्रम’ अन्तर्गत विद्यालयहरुलाई खेलकुद सामग्री वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज अर्यालले बताउनुभयो ।

प्रत्येक विद्यालयलाई तीन सेट भलिबल, नेट, पम्प, जेब्लिङ थ्रो र सटपुट उपलब्ध गराइएको नगर उपप्रमुख कमलसिंह बोहराले जानकारी दिनुभयो । युवा विद्यार्थीहरुको खेलकुदमा सहभागिता बढाउन र खेलकुद सामग्रीको अभावमा बालबालिकाहरु खेलकुदबाट वञ्चित नहोउन भनेर खेलकुद सामग्री वितरण गरिएको उहाँले बताउनुभयो ।

पाटन नगरपालिकामा यही पौष १५ गतेबाट नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुँदैछ । उक्त प्रतियोगितामा सहभागी हुने विद्यालयहरुलाई खेलकुद सामग्री प्राप्त भएपछि सहज हुने गुजर माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मानसिंह बिष्टले बताउनुभयो ।

प्रतिक्रिया जनाउनुहाेस्