पञ्चेश्वर–५र६मा भत्ता वितरणमा झमेलाः समन्वय र पूर्वतयारीबिना वितरण गर्न खोज्दा भयो समस्या

Image

बैतडी,
पञ्चेश्वर गाउँपालिका वडा नं ५ र ६ सामाजिक सुरक्षा भत्ता वितरणमा झमेला भएको घटना सार्वजनिक भएको छ । बैंकसम्म पुग्न निकै असहज हुने गरेको पञ्चेश्वर–५ र ६ मा सम्बन्धित वडामै गएर सामाजिक सुरक्षा भत्तँ वितरण गर्ने गरिएको थियो । तर मंगलबार प्रयाप्त समन्वय र पूर्व तयारीबिना सामाजिक सुरक्षा वितरण गर्ने क्रममा सामाजिक सुरक्षा प्राप्त गर्ने लाभग्राही, सेवादिने बैंकका कर्मचारी र जनप्रतिनिधि तथा कर्मचारीहरुले सास्ती खेप्नु परेको थियो ।

यतिसम्मकी राती १० बजेसम्म ज्येष्ठ नागरिकहरुले सामाजिक सुरक्षा प्राप्त गर्ने स्थानमै बस्नु परेको थियो । केहीले भत्ता बुझेर घरसम्म नै पुग्नेबेला मध्यराती भएको सेवाग्राहीहरुले बताएका थिए ।

त्यतीमात्रै नभई वडा नं ५ र ६ का करिब ११ सयबढी लाभग्राहीमध्ये करिब ६० जनाले सामाजिक सुरक्षावाफतको रकम समेत पाएनन् । यद्यपी बैकंले प्रक्रिया पुरा गरेको र केहीदिनमै उपलब्ध गराउने जनाएको छ ।
भएको के हो ?
वडा नं ५ र ६का जनप्रतिनिधिहरुका अनुसार यही भदौ २ गते गाउँपालिकाको कार्यलयमा पुगेका बैंकका कर्मचारीहरुले भोलीपल्ट अर्थात ३ गते मंगलबार नै भत्ता वितरण गर्नुपर्ने जानकारी गराए । भोली पल्ट नै भत्ता वितरण गर्नुपर्ने भएपछि सबै सेवाग्राहीलाई जानकारी गराउन समय निकै छोटो थियो ।
वडा नं ६ का वडा अध्यक्ष राम सिंह पुजाराले भने, “बैंकका व्यवस्थापकको तालिम पर्ने भएकाले भोली नै वितरण गरौँ, सबैलाई खबर गर्दिनुस् भनेका थिए, हतार हतार सूचना गर्न समय हुदैन भनेका हौँ, तर बैंकका कर्मचारीहरुले ‘भोली हुदैन भने, भाद्र अन्तिमतिर मात्रै गरिन्छ, व्यवस्थापकको तालिम परेकाले भाद्र अन्तिम तिर मात्रै हुन्छ,’ भनेपछि हामिले पनि सेवाग्राहीलाई खबर गरेका हौँ,”

हतार हतार वडा नं ५ र ६ को सिमानामा पर्ने गणमेश्वर आविमा वितरण गर्ने तय गरियो । सेवाग्राही सबैलाई जानकारी गराइयो । ६ महिनासम्मको भत्ता बुझ्न नपाएका सेवाग्राहीहरु ३ गते बिहानै घरबाट हिडरे भत्ता वितरण गर्ने भनिएको विद्यालयमा पुगे । मुख्यतयाँ बैंकले ती दुवै वडामा ६।६ महिनामा वितरण गर्ने गर्दछ ।
गाउँपालिकाबाट वडा नं ५ र ६ जोड्ने सडक नहुदा बैंकका कर्मचारी पाटन र देहिमाण्डौ हुदै विद्यालयमा पुगे । त्यहा बैंकका कर्मचारीहरु पुग्दा करिब १२ बज्नै लागेको थियो । दिउँसोबाट सेवा दिन थालेका कर्मचारीहरुलाई काम गर्न भ्याइनभ्याइ थियो ।

पालैपालो सेवाग्राहीलाई भित्र पठाइदिने माहोल समेत नरहेको अवस्थामा केही स्थानीयहरु आक्रोसित हुन थाले । दुवै वडाको भत्ता एकै स्थानमा वितरण गर्दा सेवाग्राहीको निकै चाप थियो । सो चाप राती १० बजेसम्म नै रहेको थियो ।

जनप्रतिनिधिहरुका अनुसार यतिसम्म की भत्ता वितरणको लागि भन्दै बैंकले लगेको नगद समेत सकिएपछि करिब ६० जना लाभग्राही रित्तो हात फर्किनु पर्यो । त्यसपछि स्थानीयहरु झनै आक्रोसित हुदै प्रस्तुत भइरहेका थिए । त्यस अवस्थालाई वर्णन गर्दै सामाजिक सञ्जालमा समेत भिडियोहरु सार्वजनिक गरिएका छन् ।

विगतका वर्षहरुमा वडा नं ५ र ६ मा छुट्टाछुट्टै मिति र स्थानमा गर्ने गरिएकोमा त्यस्तो समस्या आएको थिएन । प्रयाप्त पूर्व तयारी र समन्वयबिना हतारहतार दुवै वडाको एकै ठाउमा भत्ता वितरण गर्न खोज्दा झमेला आइलागेको हो ।

बैंक के भन्छ?
पञ्चेश्वर गाउँपालिकामा नविल बैंकको साखा छ । नविल बैंकले नै गाउँपालिकामा वित्तिय सेवा दिइरहेको छ । भौगोलिकरुपमा विकट मानिएका वडा नं ५ र ६ मा सम्बन्धित वडामै गएर वर्षको दुई पटक सामाजिक सुरक्षा भत्ताको रकम उपलब्ध गराउदै आइरहेको छ ।
नविल बैंकका साखा प्रबन्धक सम्राट सिंह महताका अनुसार जनप्रतिनिधिहरुकै आग्रहमा मिति तय भएको बताएका छन् । विगतका वर्षहरुझै भाद्र अन्तिमतिर मात्रै भत्ता दिने तयारीमा थियौँ, तर गौरा पर्व नजिकै आएकाले लगत्तै भत्ता उपलब्ध गराइदिन आग्रह गरेका हुन्, त्यसपछि हामिले बिहानै कर्मचारीहरुलाई ५ घण्टाको यात्रा गरी भत्ता दिनेस्थानसम्म कर्मचारीहरु पुगेको हुन्, मुख्य समस्या भौगोलिक नै हो, उनले भने ।

भत्ता वितरण भइरहेका स्थानमा उपस्थित भएका युवा तथा सामाजिक व्यक्तित्वहरुबाट सहेयोगको साटो होहल्लाको वातावरण र गुनासो मात्रै सुन्न पाइएको महता बताउछन् ।

राती १० बजेसम्म पनि सेवाग्राहीहरु बस्दा पनि केहीले भत्ता किन पाएनन्? भन्ने प्रश्नमा प्रवन्धक महताले सामाजिक सुरक्षा भत्ता बाहेक अन्य सेवाग्राहीहरुपनि आएकाले यो समस्या आएको सुनाए । सामान्य अवस्थामा एक वडाको ३०।३५ लाख हाराहारी भत्तामा जानेगरेको थियो, सोही अनुसार नगद लगिएको थियो, तर त्यहा अन्य सेवाग्राहीहरु पनि आएपछि यस्तो समस्या आएको हो, महताले भने ।

सामाजिक सुरक्षा वितरण गर्ने प्रयोजनका लागि लगिएको नगद अन्य सेवाग्राहीलाई समेत सेवा दिदा रकम अपुग भएको आसंका गरिएको छ ।

गाउँपालिका अध्यक्ष चन्द के भन्छन् ?
गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने टोली त्यहा जानेबारे कुनै पूर्व जानकारी नभएको बताउछन् । “बैंकले हामिलाई पूर्व जानकारी गराएन, हामि पनि सहयोग गथ्र्याैँ, तर त्यहा गएकोबारे पछि थाहा भायो” अध्यक्ष चन्दले भने ।

वडा नं ५ र ६ मा जोड्ने सडक सञ्जाल निर्माणको अन्तिम चरणमा रहेको जानकारी गराए । “त्यहा करिब ३० मिटरमात्रै चट्टान फुटाएर ट्याक खोल्न बाँकी छ, हामिले ५ वर्षदेखि चट्टान फुटाउनको लागि ठूला प्रज्वलनसील पदार्थ प्रयोगको अनुमती मागिरहेका छौँ, तर संघीय सरकारबाट सहयोग पाएनौँ, तर पानि पालिकाबाट नै वैकल्पिक उपाय अपनाएर काम गरिरहेका छौँ, सडक पुर्याउन अन्तिम चरणमा छौँ,” उनले भने, “त्यसपछि १ घण्टामै पालिका ओहोरदोहोर हुन्छ,” ।
चालु आर्थिक वर्षमा नविल बैंकको साखा पनि पालिकाको केन्द्रमा ल्याउने तयारी भइरहेको पालिका अध्यक्ष चन्ले जानकारी दिए ।

प्रतिक्रिया जनाउनुहाेस्