बझाङ: बझाङको बित्थडचिर गाउँपालिकाले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटलाई तीन लाख एघार हजार एक सय एघार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ।
गाउँ कार्यपालिकाको आज बसेको बैठकले ‘बझाङ्गी बाघ’ को नामले परिचित रवीन्द्र नगदसहित सम्मान गर्ने निर्णय गरेको हो। रवीन्द्र बित्थडचिर गाउँपालिकाका बासिन्दासमेत हुन्।
बैठकको निर्णयानुसार ढाँटको खेल जीवनको प्रगतिको शुभकामनासहित खेल जीवन लाई थप प्रोत्साहित गर्न गाउँपालिकाको तर्फबाट तीन लाख एघार हजार एक सय एघार रुपैयाँ सम्मान स्वरुप सहयोग गरिने गाउँपालिका अध्यक्ष अम्मरसिंह महरले जानकारी दिए।
उनका अनुसार यसअघि ढाँटको खेल जीवनलाई प्रोत्साहित गाउँपालिको तर्फबाट आव २०८०/८१ मा एक लाख प्रोत्साहन स्वरुप प्रदान गरिएको थियो। टाइटल जितेर नेपाल र नेपालीको साथै बित्थडचिर गाउँपालिकाको समेत नाम उजागर गर्न सफल भएकोमा गाउँपालिले रवीन्दलाई सगौरव हार्दिक बधाई ज्ञापनसमेत गरेको छ।
हालै भारतको नोएडामा भएको खेलमा ढाँटले साविक विजेता भारतीय फाइटर चोङ्गरेङ्ग कोरेनलाई तेस्रो राउन्डमै नकआउट गर्दै सनसनीपूर्ण जित निकालेका थिए। बान्टमवेट च्याम्पियनसिप टाइटल जितेका रवीन्द्रलाई नेपाल सरकारले पनि पाँच लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ।





















