बैतडी: बैतडीको पाटन नगरपालिकाका उपप्रमुख कमल सिंह बोहराको कार्यकक्षमा लागेको ताला खुलेको छैन । असार २९ गते लागेको ताला अझैसम्म पनि खुल्न नसकेको हो ।
जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, प्रसासनीक प्रतिनिधि सम्मेलित भेलामै तालाबन्दी भएकोमा आजसम्म ताला खोल्ने विषयमा सहमती हुन सकेको छैन । तालाबन्दी खोल्ने विषयमा औपचारिक र अनौपचारिकरुपमा छलफल गर्न खोजेपनि ताला खोल्ने विषयमा सहमती हुन नसकेको हो ।
समन्वय समितिका प्रमुख, उपप्रमुखसहित प्रसासनिक प्रतिनिधि भेला भएको अवस्थामै तालाबन्दी गरिएको र यस विषयमा ती अधिकारीबाटै छलफल समेत अघि बढ्न नसकेको उपप्रमुख बोहराले बताएका छन् । “समन्वय उप्रमुख, उपप्रमुख, प्रहरी सहभागि भएको भेलाको बिचमै ताला लागेको छ, तर ताला खोल्ने विषयमा उनिहरुले समेत चासो देखाएका छैनन्, ताला खोल्ने विषयमा छलफल गर्न माग राखेको छु, तर हुदैन” उपप्रमुख बोहराले भने ।
तालाबन्दी खोल्ने विषयमा प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले पनि चासो राखेको बताएका छन् । तालाबन्दीको विषयमा छलफल चलाउने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । “मेलै फोनबाट कुरा गरिरहेको छु, अब टुंगोमा पुर्याउने छौँ” प्रजिअ पौडेलले भने ।
यसअघि नगर उपप्रमुख कमल सिंह बोहराको नेतृत्वमा नगरपालिकाको लेखासाखामा तालाबन्दी गरिएको थियो । पालिकाबाट बिना कागज भुक्तानी भएको, काम सम्पन्न नभइकनै पूर्ण भुक्तानी दिइएको र योजनाको काममा त्रुटी हुदाहुदै पनि पालिकाबाट ती योजनाको नियमविपरित भुक्तानी गरिएको भन्दै उपप्रमुख बोहराको नेतृत्वमा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने कार्यपालिका सदस्यहरुले तालाबन्दी गरेका थिए । उनिहरुले विज्ञप्ती नै जारी गरेर छानबिन हुनुपर्ने माग अघि सारेका थिए ।
लेखा साखामा लागेको ताला खोल्ने विषयमा असार २९ गते छलफल गर्नको लागि पालिकामा भेला भएका जिल्ला समन्वय समितिका प्रमुख एवं प्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, स्थानीय र प्रसासनिक क्षेत्रका प्रतिनिधि सहभागि भएको छलफलमा उपप्रमुख कमल सिंह बोहरा अनुपस्थित भएपछि आक्रोसित भएका स्थानीयले तालाबन्दी गरेका हुन् । बजार व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका खेमराज भट्टले ताला लगाएका थिए । उनले सबै आम नागरिकको सहमतीमा आफु अग्रसर भएर ताला लगाएको बताएका थिए ।
उपप्रमुख बोहराले सामुहिक छलफलमा सहभागि नभएको र नगरपिालिकामा भएको अनियमितताको छानबिन नभएसम्म ताला रहने भट्टले सोही दिन बताएका थिए । लेखा साखामा लागेको ताला जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्र सिंह धामी, उपप्रमुख दमन कुवँर, पाटन नगरपालिकाका कार्यपालिका सदस्यहरु लगायत विभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधि सहभागि भएको भेलाबाटै लेखा साखामा लागेको ताला खुलेको थियो ।
यद्यपी लेखासाखामा ताला लागेको भोलीपल्ट नै जिल्ला समन्वय समितिका प्रमुख धामीको सयोजकत्वमा बसेको भेलाबाट ताला खोल्ने सहमती भइसकेको थियो ।
नगर प्रमुख गौरी सिंह रावल भारत भ्रमणबाट फर्किएको एक हप्ताभित्रै छानबिन समिति बनाउने सहमती अनुरुप ताला खोल्ने सहमती भइसकेको थियो । नगर प्रमुख हालसम्म भारतबाट फर्किएका छैनन् ।
लेखासाखामा लागेको तालाबन्दी गर्दै उपप्रमुख बोहराले अघि सारेका मागप्रति राजनितिक दलहरु नेकपा एमाले, नेपाली कांग्रेस र माओवादीले चासो राख्दै ती मागमाथि छानबिन हुनुपर्ने बताइसकेका छन् ।
सबै नगरबासीमा नगरपालिकामा अनियमितता भएको आसंका परी सकेको छ । नगर प्रमुख रावल आइसकेपछि बन्ने भनिएको समिति कस्तो बन्ने र त्यसका क्षेत्राधिकार तोक्ने विषयमा छलफल र सहमती भएपछि छानबिन अघि बढ्ने छ । त्यसका लागि जिल्ला समन्वय समितिले बढी चासो दिनुपर्ने देखिएको छ ।





















