बैतडी: नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बैतडीमा सामूहिक कोदो खेती सुरु गरेको छ । जिल्ला इन्चार्ज राम सिंह कुवरको नेतृत्वमा दोगडाकेदार गाउपालिका–१ को रिममा ७ रोपनी जमिन लिजमा लिएर सामुहिक कोदो खेती सुरु गरिएको हो ।
स्थानीय किसानबाट जमिन लिजमा लिएर कोदो खेती भइरहेको जिल्ला इन्चार्ज कुवँरले जानकारी दिए । दोगडाकेदार गाउँपालिका–१ को वडा कमिटिका करिब २६ जना सदस्यहरु कोदो खेतीमा सरिक रहेको कुवँरले बताए ।
बाँझो जग्गा उपयोग गरी नेता कार्यकर्ता र पार्टीलाई आत्मनिर्भर बनाउने उद्देश्य अनुरुप सामुहिक खेतीमा अग्रसर भइरहेको उनले बताए ।
देशभरीमा कोदोको माग बढ्दै गइरहेको र उत्पादनमा कमी आइरहेको अवस्थामा कोदोले राम्रो बजार पाउने अपेक्षा गरिएको पनि नेकपाले बताएको छ । बैतडीमा पनि व्यावसायिक कादोखेतीको सुरुवात हुनुपर्नेमा नेकपाले जोड दिएको छ ।
पार्टीका सदस्यहरु आत्मनिर्भर बन्ने र पार्टीलाइ पनि आत्मनिर्भर बनाउने लक्ष लिइएको कुवर बताउछन । कम्युनिस्ट धारका नेता कार्यकर्ताहरु किसानसँग नजिक हुनुपर्ने र बाँझो जमिनलाई सदुपयोग गरी माटो सुहाउदो उत्पादनमा ध्यान दिन जरुरी रहेको जिल्ला इन्चार्ज कुवँरले बताए ।





















