असोज १९ गते, बैतडी: बैतडीको पञ्चेश्वर गाउँपालिका–१ स्थित गणेश आधारभूत विद्यालयमा ११४ जना विद्यार्थीका लागि एक जना मात्रै शिक्षक कार्यरत छन् । कक्षा १ देखि ५ सम्म पढाइ हुने विद्यालयमा प्रधानाध्यापक केशवसिंह घटाल मात्रै कार्यरत रहेका छन् ।
पालिकाको अनुदानबाट कार्यरत तीन जना शिक्षकलाई साउन १ गतेदेखि हटाइएपछि विद्यालयमा शिक्षकको संख्या एक जनामा सीमित भएको हो ।
‘तीन जना पालिका अनुदानबाट कार्यरत थिए, ती सबैलाई गत साउनदेखि हटाइयो । अहिले म मात्रै छु,’ प्रधानाध्यापक घटालले भन्नुभयो ।
एक्लैले कक्षा १ देखि ५ सम्मका सबै विद्यार्थीलाई नियमित रूपमा अध्यापन गराउन सम्भव नभएको उहाँले बताउनुभयो ।
गाउँपालिकाले प्राथमिक तहको शिक्षक दरबन्दी पर्याप्त रहेको भन्दै पालिका अनुदानमा कार्यरत शिक्षक आवश्यक नरहेको निष्कर्षसहित पालिकाभरिका प्राथमिक तहका ३० जना शिक्षकको अनुदान हटाएको जनाएको छ ।
यसैबीच, गणेश आधारभूत विद्यालयमा शिक्षक अभाव भएपछि कुलाउ माध्यमिक विद्यालयमा अध्यापन गराइरहेका षष्ठी बल्लभ तिवारीलाई साउन १९ गते गणेश आधारभूत विद्यालयमा सरुवा गरिएको थियो । सोही दिन दुवै विद्यालयमा सरुवासम्बन्धी पत्र पठाइएको थियो ।
तर सरुवा भएको ३ महिनाभन्दा बढी समय बितिसक्दा पनि तिवारी गणेश आधारभूत विद्यालयमा हाजिर भएका छैनन् ।
पालिकाले पत्र पठाउनुका साथै पटक–पटक ताकेता गरे पनि तिवारीले आफू बिरामी भएकाले काठमाडौंमा उपचाररत रहेको बताउँदै आएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख महामलसिंह घटालले जानकारी दिनुभयो ।
शिक्षक तिवारीले पनि आफू बिरामी भएकाले उपचारका लागि काठमाडौंमा रहेको बताउनुभएको छ ।
बैतडी:११४ विद्यार्थी, शिक्षक एक जना, सरुवा गरिएका शिक्षक ३ महिनादेखि विद्यालय पुगेनन्

प्रतिक्रिया जनाउनुहाेस्











