बैतडीको शिवनाथ ‘पूर्ण संस्थागत सुत्केरी पालिका’ घोषणा

Image

बैतडीः बैतडीको शिवनाथ गाउँपालिकालाई ‘पूर्ण संस्थागत सुत्केरी पालिका’ घोषणा गरिएको छ ।  गाउँपालिकाले पूर्ण संस्थागत सुत्केरी घोषणाको मापदण्ड बनाएको र सोही मापदण्ड अनुसार पालिकालाई पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएको हो ।

पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणाका सबै मापदण्ड पूरा भएपछि गाउँपालिकालाई आइतबार पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रसिंह महताले बताउनुभयो  ।

गाउँपालिकाभरीमा एक बर्षको अवधिमा २ सय ८२ जना गर्भवती आमाहरुले स्वास्थ्य संस्थामै बच्चा जन्माएको एकीन भएपछि गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएको हो । यस्तै गर्भवती आमामध्ये कम्तीमा ९० प्रतिशत आमाले चार पटक गर्भजाँच गराएको हुनुपर्ने, सबै गर्भवती आमाहरुले स्वास्थ्य संस्थामै बच्चा जन्माएको हुनुपर्ने, स्वास्थ्य संस्थामा कम्तीमा ९५ प्रतिशत आमाले तालिमप्राप्त जनशक्तिबाट प्रसूती सेवा लिएको हुनुपर्ने मापदण्ड तय गरिएको छ ।

घरमा भएको प्रसुतिको संख्या शून्य भएको, प्रोटोकल अनुसार ४ पटक गर्भ जाँच गरेको, तालिम प्राप्त जनशक्तिबाट स्वास्थ्य संस्थामा प्रसुति गरेको र प्रोटकल अनुसार ३ पटक सुत्केरी जाँच गरेकोलगायतका सुचक पुरा गरेको पाइएपछि गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गरिएको उहाँले बताउनुभयो ।

मातृ तथा नवजात शिशुको मृत्यु तथा जटिलता दर घटाउने, घरमा हुने असुरक्षित प्रसुति अन्त्य गरि संस्थागत प्रसुतिलाई प्रोत्साहन गर्न, मातृ तथा नवशिशु स्वास्थ्य सम्वन्धि राष्ट्रिय लक्ष्य,दिगो विकाश लक्ष्य र अन्तराष्ट्रिय प्रतिवद्धता पुरा गर्ने उद्धेश्यले ‘पूर्ण संस्थागत सुत्केरी पालिका’ घोषणा गरिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताउनुभयो ।

सुरक्षित मातृत्व तथा नवजात शिशुको स्वास्थ्य संरक्षणलाई प्राथमिकता दिँदै स्वास्थ्य संस्थामा प्रसूति गराउने अभियान प्रभावकारी बनेकाले गाउँपालिकाले उक्त उपलब्धि हासिल गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया जनाउनुहाेस्