बैतडी: बैतडीको पाटन नगरपालिका–८,९ र १० का आलु पकेट क्षेत्र हो । यहाँका किसानहरु आलु उत्पदान गरी वार्षिक लाखौँ आम्दानी गर्ने गरेका छन् । यहाँका प्राय किसानहरुलाई आलुसहित बेमौसमीले तरकारी खेतीले आत्मानिर्भर बनाएको छ । आलु खेतीबाट वार्षिक १० लाखसम्म आम्दानी गर्ने गरेको पाटन–८ का किसान केशव बिष्ट बताउनुहुन्छ । आलुखेतिसँगै सिजन अनुसार अन्य तरकारी बाली पनि लगाउने गरेको छु, १० लाखबढी आम्दानी हुन्छ, बिष्ट भन्नुहुन्छ ।
यस वर्ष समय–समयमा पानी परेकाले आलु राम्रो फल्ने आशा गरिएको छ । बैतडीबाट मात्रै वार्षिक डेढ देखि दुई करोड सम्मको आलु निर्यात हुने गरेको बताउनुहुन्छ कृषी ज्ञान केन्द्र, बैतडीका प्रमुख हरिदत्त जोशी । यस वर्ष समयसमयमा पानी परेकाले विगतको तुलनामा २० प्रतिशतसम्म वृद्धि हुनसक्ने प्रमुख जोशीले बताउनुभयो ।

यस क्षेत्रमा शिद्देश्वर बृहत आलु क्षेत्र विस्तार कार्यक्रम नै घोषणा गरेर व्यवसायिक आलु एवं अन्य सिजनल तरकारी खेती गरिरहेका किशानहरु सिचाँई र शीतभण्डारको अभावमा मारमा छन् । यस क्षेत्रमा एउटा कोल्ड स्टोर छैन, आलुको बीउ राख्नको लागि यहाँबाट डडेल्धुरा लैजानु पर्ने बाध्यता रहेको महरा बताउनुहुन्छ ।
प्रदेश र संघीय सरकारको लगानीमा पाटन–८ खोड्पे क्षेत्रमै बनेका दुई शीत भण्डारहरु वषौँदेखि प्रयोग बिहीन छन् । वर्षाैदेखि अलपत्र अवस्थामा रहेको सीत भण्डार सञ्चालनमा नआउदा कृषि उपजलाई सुरक्षीत राख्न नपाएको र आलुको बिउ समेत राख्न समस्या हुने गरेको अर्का किसान नर बहादुर बिष्ट बताउनुहुन्छ । यस क्षेत्रमा बनेका शीत भण्डार समेत प्रयोगमा छैनन्, शीत भण्डार सञ्चालन गर्नको लागि सरोकरवाला निकायले चासो नदेखाएको बिष्टको गुनासो छ ।

पाटन नगरपालिका वडा नं ८ खोडपेमा प्रदेश सरकारको सहयोगमा करिब ४२ लाख लागतमा बनेको शीत भण्डार सञ्चालनमा आएको छैन । आर्थिक वर्ष २०७९।०८० मा नै प्रदेश सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोल्ड स्टनेर सञ्चालनमा आउन सकेको छैन । कोल्ड स्टोरका सञ्चालक मोहनदेव भट्टले प्रदेश सरकारको १५ लाख अनुदानमा निर्माण गरेको भएपनि प्रयोगमा ल्याएका छैनन् । कोल्ड स्टोर निर्माणका क्रममा अनुदान लगेका भट्ट अहिले सम्पर्कमा नरहेको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीले बताउनुभयो ।
यसैगरी खोडपे क्षेत्रमै बनेको अर्काे कोल्ड स्टोरको काम सम्पन्न हुन सकेको छैन । साविकको नयाँ सहर आयोजनाको कार्यलयद्धारा ८४ लाख २९ हजार ८१ रुपैँया लागतमा बनेको कोल्ड स्तोरमा विद्युत जडान नहुदा प्रयोगमा आउन सकेको छैन ।

विद्युत जडानसँगै केही प्राविधिक उपकरण जडानको काम बाँकी रहेको छ । उक्ट कोल्ड स्टोरमा विद्युत जडानको लागि बजेट नआएकाले आगामी वर्षको लागि माग गरिएको नयाँ सहर आयोजनाको कार्यालय गाभिएकोसघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालयका सूचना अधिकारी विशाल श्रेष्ठले जानकारी दिनुभयो ।
व्यवसायिक तरकारी खेती गरेर नमुना बनेका पाटन नगरपालिका वडा नं. ८, ९ र १० मा सरकारले सिँचाई र शीतभण्डारको व्यवस्था गर्नु जरुरी रहेको छ ।





















