बैतडी: बैतडीसहित सुदूरपश्चिममा आज ‘बिसु’ पर्व मनाइँदैछ । सुदूरपश्चिमा वैशाख १ गते नयाँ वर्षको पहिलो दिनलाई बिसुपर्वका रूपमा मनाउने चलन छ । हरेक वर्ष बिसुमा मीठा–मीठा खानाका परिकार बनाउने र विशेष गरेर सिस्नु लगाउने चलन रहिआएको हो ।
बिसु पर्व सबै पर्व मध्येको जेठो र महत्वपूर्ण पर्व भएकाले रोजगारीका लागि गएकाहरु पनि गाउँघर आएकाले बिसुको छुट्टै प्रकारको रौनकता छाएको सिगास गाउँपालिका–२ का स्थानिय टेकसिंह धामीले बताउनुभयो । आजको दिन इष्टमित्र तथा घरपरिवारका सदस्य मिलेर स्थानीय मौलिक परिकार लौन, सेल, माणा, पुरी, बटुकलगायत परिकार खाँदै बिसु मनाउने गरिएको उहाँले जानकारी दिनुभयो ।
देवर भाउजु, नन्द भाउजु र साली भिनाजुले एकआपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ । सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास रहेको पाटन नगरपालिका–६ स्थानीय सस्कृतिका जानकार हरिप्रसाद जोशीले बताउनुभयो ।
सुदूरपश्चिमको महत्वपूर्ण पर्वका रूपमा रहेको बिसु आउनुपूर्व नै घर रातो माटो र कमेरोले लिपपोत गर्ने गरिन्छ । नयाँ वर्ष आउनुभन्दा अघि नै घर लिपपोत गरेमा वर्षभरि सुख, शान्ति र समृद्धि आउँछ भन्ने विश्वास रहिआएको छ ।
आज बिहानैदेखि पवित्र नदीमा स्नान गर्ने गरिन्छ । आजको स्नानले शरीरमा भएको विषाक्त पदार्थ हटेर जाने र जीवन विषमुक्त हुने विश्वास गरिन्छ ।




















