काठमाण्डाै: सुदूरपश्चिम प्रदेश पहिलो पटक प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटको फाइनलमा पुगेको छ । आज भएको खेलमा एपीएफ क्लबले मधेश प्रदेशलाई हराएसँगै सुदूरपश्चिम उपाधि नजिकै पुगेको हो ।
अब सुदूरपश्चिमले फाइनलमा आउँदो शुक्रवार त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । प्रधानमन्त्री कपमा पहिलो पटक दुई विभागीय टोलीबाहेकको फाइनल हुन लागेको हो ।
वीरगञ्जमा भएको खेलमा एपीएफले मधेशलाई ७४ रनले हरायो । एपीएफले दिएको ३९१ रनको लक्ष्य पछ्याएको मधेशले ५० ओभरमा ८ विकेट गुमाएर ३१६ रन मात्र बनाउन सक्यो । मधेशका मोहम्मद आदिल आलमले ८७, अरनिको यादवले ८६ रन बनाए । एपीएफका अभिषेक गौतमले ३ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको एपीएफले ५० ओभरमा ५ विकेट गुमाएर प्रतियोगिताको इतिहासकै धेरै ३९० रन बनायो । एपीएफका आसिफ शेखले प्रतियोगिताको इतिहासमै पहिलो दोहोरो शतक बनाए । मधेशका रूपेश सिंहले ३ विकेट लिए ।
यस्तै जनकपुरमा भएको खेलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई १८५ रनले हरायो । आर्मीले दिएको ३६३ रनको लक्ष्य पछ्याएको कोशी ३६ ओभरमा १७७ रन बनाउँदा अलआउट भयो । कोशीका प्रभात राईले सबैभन्दा धेरै ३८ रन बनाए । आर्मीका आकाश चन्दले ३ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ८ विकेट गुमाएर ३६२ रन बनायो । आर्मीका कप्तान विनोद भण्डारीले १८९, भीम सार्कीले ८० रन बनाए । कोशीका विपिन महतोले ३ विकेट लिए ।




















