बैतडीका ६६ हजार बढी नागरीक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Image

बैतडी: बैतडीमा ६६ हजार बढी नागरीक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । यहाँका १६ हजार ४४१ परिवारका ६६ हजार २४७ जना स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका हुन् ।
जेष्ठ नागरिक, क वर्गको अपांगता भएका व्यक्ति, एचआइभी संक्रमित, एमडीआरटी टीबी भएका व्यक्ति, कुष्ठ रोग लागेका व्यक्तिहरुको निशुल्क स्वास्थ्य बीमा गर्ने गरिएको स्वास्थ्य बीमा सम्पर्क कार्यालय बैतडीका प्रमुख अनिलचन्द्र जोशीले बताउनुभयो । यस्तै महिला स्वास्थ्य स्वयं सेविकाहरुको स्वास्थ्य बीमा गर्दा प्रिमियमको आधा सरकारले तिर्ने उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य बीमामा आवद्ध भएका नागरिकले सूचीकृत स्वास्थ्य संस्थाबाट निशुल्क रुपमा उपचार सेवा पाउने गरेका छन् । बैतडीमा हकमा जिल्ला अस्पताल बैतडी, प्राथमिक स्वास्थ्य केन्द्र पाटन र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र  मेलौली सूचीकृत स्वास्थ्य संस्थाको रुपमा रहेका जोशीले जानकारी दिनुभयो ।
उक्त संस्थाहरुमा उपचार हुन नसकेमा रेफर गरिएका अन्य अस्पतालहरुमा पनि निशुल्क उपचार हुने गरेको उहाँले बताउनुभयो ।

स्वास्थ्य बीमामा आवद्ध हुन चाहने नागरिकले ५ जना सम्मको परिवार सदस्यका लागि बार्षिक ३ हजार ५ सय प्रिमियम तिर्नुपर्ने र त्यो बाफत एक लाख बराबरको उपचार निशुल्क पाइने गरेको छ । ५ जनाभन्दा बढी सदस्य भएको परिवारले प्रति सदस्य सात सय थप प्रिमियम बुझाउनुपर्ने र उनीहरुले थप २० हजारका दरले उपचार सुविधा पाउने गरेका छन् ।
गरिब नागरिकहरुको स्वास्थ्य सेवामा पहुँच पुर्याउनका लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याइएको हो । एकमुष्ट ठूलो रकम उपचारका लागि तिर्न नसक्ने नागरिकका लागि यो निकै फाइदाजनक कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्