बाजुरा: बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–२ पुडेनी मा ढुङ्गाले प्रहार गरी एक जनाको हत्या गरिएको घटना सार्वजनिक भएको छ ।
सोमबार साँझ करिब ६ः२० बजे सोही स्थानका करिब ४०–४५ वर्षका धनबहादुर महतरा र उनका १८ वर्षीय छोरा हेमराज महतरा ले स्थानीय रुद्रलाल बुढाका ३५ वर्षीय छोरा सर्वाश बुढा माथि ढुङ्गाले टाउकोमा प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए। गम्भीर घाइते भएका बुढाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
घटनाबारे साँझ करिब ७ बजे वडा नं. २ का वडा अध्यक्ष विष्णु बहादुर बुढा ले टेलिफोनमार्फत अस्थायी प्रहरी पोस्ट मुक्तिकोट, बाजुरा लाई जानकारी गराएका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक रवीन्द्र धामीको कमाण्डमा ३ जनाको प्रहरी टोली ७ः१० बजे घटनास्थलतर्फ खटिएको थियो।
प्रहरी टोली ८ः१० बजे घटनास्थल पुगेपछि कुटपिटमा संलग्न धनबहादुर महतरा लाई घटनास्थलबाटै नियन्त्रणमा लिएको छ भने घटनामा संलग्न उनका १८ वर्षीय छोरा हेमराज महतरा फरार रहेका छन्। उनको खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ।
उक्त घटना स्थल अस्थायी प्रहरी पोस्ट मुक्तिकोटबाट करिब १ घण्टा ३० मिनेट पैदल पश्चिम पर्ने दुर्गम क्षेत्रमा रहेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया जनाउनुहाेस्























