बैतडी: बैतडीमा आगामी फगुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन निकै रोचक हुने देखिएको छ । तीन पटक लगातार जितेका एमालेका दामोदर भण्डारी, नेपाल क्रिकेट संघका अध्यक्ष समेत रहेका कांग्रेसका चतुर बहादुर चन्द, नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका परमानन्द भट्ट र राष्ट्रिय स्वतन्त्र पार्टीका हरिमोहन भण्डारी बलिया प्रतिस्पर्धी हुन् ।
झनै रोचक कुरा के छ भने एमाले बैतडीका संस्थापक एवं पूर्व जिल्ला विकास समिति सभापति समेत भइसकेका परमानन्द भट्ट हाल नेकपामा छन् । यसैगरी २०७९को निर्वाचनमा नेपाली कांग्रेसबाट प्रदेशसभाको टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएर बलियो टक्कर दिएका हरिमोहन भण्डारी हाल रास्वपाबाट उम्मेदवार छन् ।
यी चार वटै उम्मेदवारहरुले घरदैलो अभियानलाई तीव्रता दिइरहेका छन् । एमाले आफ्नो दवदवा कायमै राख्ने लक्ष्यमा रहेको छ, बलियो संगठन रहेको कांग्रेस लयमा फर्किने लक्ष्यमा देखिन्छ भने नेपाली कम्युनिस्ट पार्टी पुनः लयमा फर्किन चाहान्छ । त्यसैगरी रास्वपा नयाँ इतिहास बनाउने लक्षकासाथ हिडेको छ ।
यतिबेला जिल्लामा ८÷८ हजार सदस्य रहेको दाबी गरेका एमाले र कांग्रेसलाई कडा टक्कर दिइरहेका पात्र हुन रास्वपाका हरिमोहन भण्डारी । यसअघि प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर ११ हजार मत ल्याएका भण्डारी अहिले संघीय निर्वाचनमा रास्वपाका पार्टी सदस्यहरुको साथ लिएर जित्ने दावी गरिरहेका छन् । उनले आफ्नो प्रतिस्पर्धी समेत नरहेको हालै आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।
यता यसअघि ३३ हजार मत ल्याएर विजयी भएका दामोदर भण्डारीले पनि विजय सुनिश्चित रहेकाले घोषणा गर्न बाँकी रहेको दावी गरेका छन् । कांग्रेस उम्मेदवार चतुर बहादुर चन्दले पनि विगतमा बैतडी बासीले अपेक्षा अनुसार विकासको अनुभुती गर्न नपाएको भन्दै त्यसबाट आजित भएका जनताले आफुलाई जिताउने दावी गरेका थिए ।
यसैगरी नेकपाका उम्मेदवार परमानन्द भट्टले विगतमा सरकारमा रहेका दलहरुको असक्षमताका कारण यो परिस्थिति आएकाले मत परिवर्तनको पक्षमा रहेको बताएका छन् ।
नेपाली कांग्रेसले २०७४ सालपछि आफ्नो उम्मेदवार पाएकाले हौसिएको छ । यसअघि २०७९मा गठबन्धनका कारण नेकपा माओवादी केन्द्रका नरेन्द्र कुवँरका लागि मत मागेको थियो । कांग्रेसका बागी उम्मेदवार तेज बहादुर चन्दले उम्मेदवारी फिर्ता लिएर कांग्रेसका आधिकारीक उम्मेदवार चतुर बहादुर चन्दलाई सहयोग गर्ने भन्दै पार्टीमा फर्किएपछि कांग्रेसलाई झनै राहात मिलेको छ । चतुर बहादुर चन्दको लागि पहिलो परिक्षणको अभ्यास रहेको र उहाँमा सक्षमता रहेकाले कांग्रेसले विजयी हासिल गर्ने कांग्रेस बैतडीका सचिव प्रेम चन्दको दावी छ ।
“उहाँ पहिलो टेस्टेड उम्मेदवार हो, उहाले क्रिकेट संघमा गरेको उत्कृष्ट कार्यसम्पादन उदाहारण हो, त्यसैले उहाँ सक्षम उम्मेदवार हो” चन्दले भने ।
त्यसैगरी नेकपा एमाले आफ्ना कार्यकर्ताहरुलाई संरक्षण गर्दै पुरानै मत संरक्षण गर्नतर्फ अगाडी बढेको छ । पार्टीका सबै कार्यकर्ताहरुलाई डगमगाउन नदिनको लागि कसरत गरिरहेको छ । विगतमा दुई बलिया पार्टी एक हुदा त निर्वाचन जितेकाले आफुहरुलाई कुनै समस्या नहुने एमाले केन्द्रिय समिति सदस्य गोविन्द गिरीले बताए ।
“हामिले नेपाली कांग्रेस र माओवादी एक ठाउँमा हुदा त निर्वाचन जितेका हौँ, अहिले त्यस्तो समस्या हुदैन,” केन्द्रिय सदस्य गिरीले भने । १३ वर्षदेखि बैतडीमा आएको पुर्वाधार, शिक्षा र स्वास्थ्यको आमूल परिवर्तनका कारणले पनि दामोदरको विकल्प अन्य उम्मेदवार हुन नसक्ने केन्द्रिय सदस्य गिरीले बताए ।
२०७९को निर्वाचनमा ३३ हजार ६ सय ११ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका दामोदर भण्डारीले त्यसअघि २०७० सालको दोस्रो संविधानसभा, २०७४मा जित हासिल गरेका थिए । उनी एक पटक अर्थराज्यमन्त्री र तीन पटक उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री भइसकेका नेता हुन् । कार्यकार्ताहरुलाई थप बजबुद बनाएर गाउँगाउँ खटाएको नेकपाले पनि आफ्दो उपस्थिति बलियो रहने संकेत गरेको छ ।
“हाम्रो सैद्धान्तिक मत समेत जित नजिककको रहेकाले जित सुनिश्चित गराउनको सबै कार्यकर्ता एकजुट भएर कसरतमा छन्, त्यसैले हामि निकै बलियो स्थितिमा छौँ,” नेकपाका पोलिटव्युरो सदस्य समेत रहेका नरेन्द्र कुवँर(विजयसुन्दर)ले भने ।
यसैगरी युवामाझ परिचित र चर्चित अनुहार रास्वपाका हरिमोहन भण्डारीले चुनावी मुभमेन्ट निकै बढाउदैछन् । यसअघिका दिनहरुमा कांग्रेस र एमालेका उम्मेदवार बलिया रहेको चर्चा चलेकोमा रास्वपाले जनतामाझ गरिरहेको लगातारका कार्यक्रम र जिल्लामा बालेनको उपस्थितिले दामोदर र चतुरको लागि हरिमोहन भण्डारी भारी पर्ने आंकलन गरिएको छ ।
स्वच्छ छबी भएका र युवामाझ ससक्त रहेका व्यक्ति रास्वपाको उम्मेदवार रहेकाले पनि यस वर्ष बैतडीमा नयाँ इतिहास कोरिने रास्वपाका नेता भोजराज जोशीले बताए । “टोलटोलमा रास्वपा र हरिमोहनको चर्चा छ, सबै दलका नेताहरुप्रति जनताहरु रुस्ट छन्, हरिमोहन आफैमा अब्बल उम्मेदवार हुन्, त्यसैले हामिलाई जितबाट रोक्न सक्दैनन्” जोशीले भने





















