बझाङ:शुक्रबार बझाङकाे सदरमुकाम चैनपुरमा भएको आगलागीबाट उद्योग, होटल र पसल गरि तीन वटा जलेर ध्वस्त भएका छन् । आगलागीबाट करिब १ करोड ८१ लाख बराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार आगलागीबाट किशोर खड्काकाे सुर्मा देवि सिरक डस्ना उद्योगमा सबैभन्दा बढी क्षति पुगेको छ। उनको उद्योगमा रहेका १ करोड ५६ लाख ६६ हजार बराबरको लत्ताकपडा, धनमाल र उद्योगका उपकरण जलेका हुन् ।
यस्तै सिरक उद्योगमा सल्किएको आगोले नजिकै रहेको हरिनादेवी कठायतको विनाेद हाेटेल जल्दा १५ लाख, मेनुका खत्रीको विशाल किराना पसल जल्दा ५ लाख र हाेटेल, पसल वरिपरि रहेका अन्य व्यवसायीहरूकाे सामान वसारपसार गर्दा ५ लाख बराबरको सामान टुटफुट भएर क्षति भएको जिला प्रहरी कार्यालय बझाङमा डिएसपी खगेन्द्र धमलाले बताए ।
उक्त उधाेगमा चिसाे भगाउन आगाे पनि बालेकाे र रूइ बनाउने मेसिनमा विधुत सर्ट भएर आगाे निस्किएकाे सुन्नमा आएकाले सिरक, डस्ना उधाेगमा आगाे कसरी लागेकाे भन्ने अझै एकिन नभएकाे डिएसपी धमलाकाे भनाई छ । उनले भने, ´ताप्न बालेको आगोबाट हाे कि, विधुत सर्ट भएर आगाे लागेकाे हाे भन्ने अझै एकिन भएकाे छैन् ।`
बिहान करिब ९ः३० बजेतिर आगाे सल्किए पछि स्थानीय, सेना र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो । आगो अन्यत्र फैलिन नदिन छेउछाउका टहराहरु हटाइएको थियो । समयमा दमकल नआइपुगेका कारण बढी क्षति भएको स्थानीय लाेकेन्द्र खड्काले आरोप लगाएका छन् । उनले भने, ‘दमकल समयमा आएको भए सजिलै आगो नियन्त्रण हुने थियो । यति धेरै क्षति पनि हुने थिएन ।`
सदरमुकाम चैनपुरमा यसअघि भएका आगलागीका घटनामा पनि दमकल तुरुन्त नपुगेका कारण समयमै आगो नियन्त्रण हुन नसक्दा बढी क्षति भएको स्थानीयको गुनासो छ ।




















