अस्ट्रेलियन ब्याटर क्रिस लिनले सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्ने

Image

काठमाडौं:  सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियन ब्याटर क्रिस लिनलाई नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका निम्ति पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ ।

लिनले टी–२० संरचनामा २९३ खेल खेलेका छन् । त्यसमा उनले आठ हजारभन्दा बढी रन बनाएका छन् । आक्रामक ब्याटिङका निम्ति चर्चित लिनले अस्ट्रेलियाबाट १८ टी–२० अन्तर्राष्ट्रिय र चार एकदिवसीय अन्तर्राष्ट्रिय खेल पनि खेलेका छन् ।

लिन अस्ट्रेलियन बिग ब्यास लिग (बीबीएल)मा सबैभन्दा धेरै रन बनाउने र छक्का प्रहार गर्ने खेलाडी हुन् । इन्डियन प्रिमियर लिग (आईपीएल)सहित विश्वका धेरै फ्रेन्चाइज लिग खेलिसकेको उनीसँग अनुभव छ ।

लिनसँगको सम्झौतापछि सुदूरपश्चिमका टिम मालिक स्वतन्त्रप्रताप शाहले भने, “बिग ब्यास लिगमा प्रतिष्ठा कमाएका अस्ट्रेलियन खेलाडीलाई पहिलो संस्करणदेखि नै हाम्रो योजनामा राखेका थियौँ । क्रिस लिन टिममा सामेल भएकोमा हामी निकै खुसी छौँ र उनको आगमनले टिमलाई अझै मजबुत बनाउनका साथै नेपाल प्रिमियर लिगको प्रतिष्ठा बढाउनेमा विश्वास गर्छौं ।”

सुदूरपश्चिममा अनुबन्ध भएपछि लिनले आफ्नो उत्साह प्रकट गर्दै भने, “म नेपाल प्रिमियर लिगमा खेल्न पाउँदा निकै उत्साहित छु । यहाँका क्रिकेटप्रेमीहरूको अगाडि र प्रतिभाशाली खेलाडीहरूको समूहसँगै खेल्न पाउनु रोमाञ्चक हुनेछ ।”

एनपीएलको दोस्रो संस्करण आउँदो मंसिर १ देखि २७ गतेसम्म गरिने आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्