बैतडी: बैतडीको सिगास गाउँपालिका-४ की २० वर्षीया लक्ष्मी धामीलाई गत बिहीबार सुत्केरी बेथाले च्यापेपछि स्थानीयले आधारभूत स्वास्थ्य सेवा केन्द्र कान्धारमा पुर्याए । स्वास्थ्यका सबै सुचकहरु सामान्य हुदाहुदै प्रसवको असैह्य पिडा सहेर राती ९ बजे शिशुको जन्म दिइन् ।
तर शिशुको अवस्था सामान्य देखिएन । सामान्य अवस्थामा जस्तै शिशु रुने, हात खुट्टाहरु चलाउने लगायतका लक्षण देखाएन । श्वास निकै सुस्त चलेको अवस्था थियो । सुत्केरी गराएकी सोही स्वास्थ्य संस्थाकी अनमी जानकी पुजाराले गाउँपालिकाको स्वास्थ्य शाखामा शिशुको अवस्थाबारे जानकारी गराइन् ।
शिशुको अवस्था निकै नाजुक रहेकाले तत्काल अस्पताल लैजानुपर्ने थियो । अस्पताल लैजानको लागि माथिल्लो निकायमा पहलका लागि अनुरोध गरिन् । रातीको समय भएकाले हेलिकप्टरबाट उद्धार गर्न सक्ने अवस्था नभएको भन्ने जानकारी अनमी जानकीले पाएपछि झनै आपत आइलाग्यो । शिशुलाई अस्पतला लैजानको लागि ग्रामिण सडकसम्म पुर्याउन करिब ४ घण्टा लाग्ने गर्छ, त्यो पनि सम्भव भएन । प्रसव पिडामा रहेकी लक्ष्मीको आँखामा आँसु भरिएको थियो ।
अस्पताल लैजानसक्ने असम्भवप्राय भइसकेपछि अनमी पुजारासँग एकमात्रै विकल्प थियो, कृतिम श्वास दिने । स्थलमार्ग र हवाइ मार्गको कुनै विकल्प नरहेको अवस्थामा अनमी पुजाराले आफ्नो सेवाअनुभवबाट शिशुलाई आफ्नै मुखबाट श्वास दिन थालिन् ।
राती ९ बजेदेखि कृतिम श्वास दिन थालेकी पुजाराले लगातार ६ घण्टापछि बिहान ३ बजेको समयमा शिशुले सानो स्वर निकालेर रुन थाल्यो तब पुजाराको ओठमा हासो देखियो, शिशुको जन्म दिएकी लक्ष्मीले पनि आँसुसँगै मलिन मुस्कान दिइन् ।
“म स्वास्थ्य सेवामा ६ वर्षको अनुभव छ, मैले आजसम्म वयस्क तथा वृद्ध मानिसहरुलाई मात्रै कृतिम श्वास दिएकी छु, नवजात शिशुलाई दिएको यो पहिलो पटक हो ।” अनमी पुजाराले भनिन् ।
अहिले शिशुको अवस्था सामान्य रहेको अनमी बताउछिन् । अनमी वुजाराले सुत्केरी पश्चात गरिने चाँज नियमित गरिरहेकी छन् । भौगोलिक विकटताका कारणले ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवा भोग्नु पर्ने गरेको छ । सडकको सहज पहुँच नपुगेको सिगासमा सार्वजनिक सेवा प्रवाहमा पनि ढिलाई हुने गरेका छन् ।
सिगास गाउँपालिकालाई संघीय सरकार र प्रदेश सरकारले कर्मचारीको पदपुर्तीमा चासो नदिदा करारका कर्मचारीहरुले सेवा धानेका छन् । सिगास गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्याम सिंह बोहराले आवस्यक दरबन्दीका कर्मचारी नहुदा करारका कर्मचारीबाट सेवा प्रवाह भइरहेको बताए ।
“भौगोलिक विकटता एक समस्या छदैछ, तर मूख्य समस्या यहाँ कर्मचारीको छ, प्रदेश र संघबाट कर्मचारी नदिदा करारमा भर्ना गरेर राख्नु परेको छ,” शाखा प्रमुख घनश्याम सिंह बोहराले भने ।
गाउँपालिकामा रहेका ६ वटा स्वास्थ्य चौकी र ५ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र छन् । त्यसमा अधिकांस करारका कर्मचारी छन्, गाउँपालिकामा रहेका सबै बर्थीङ सेन्टरमा करारकै कर्मचारीहरु राखेको गाउँपालिकाले जनाएको छ ।





















