पुरनसिंह दयालको काव्यकृति ‘कारागारको ढोकाबाट चियाउँदा’ कृतिको विमोचन

Image
संविधानसभा सदस्य पुरनसिंह दयालको काव्यकृति ‘कारागारको ढोकाबाट चियाउँदा’ कृतिको विमोचन गरिएको छ । शनिवार भानु जयन्तीको पुर्वसन्ध्यामा महेन्द्रनगरमा आयोजित नेपाल भारत काव्य गोष्ठीमा काव्यकृतिको विमोचन गरिएको हो ।
उक्त काव्यकृति माथि साहित्यकार जगदीश ओझा तथा जनज्योति क्याम्पसका उप प्राध्यापक यज्ञराज अवस्थीले समीक्षात्मक मन्तव्य राखेका थिए । प्रगतिशील लेखक संघ नेपालको आयोजनामा आयोजित काव्य गोष्ठीमा विद्यालय स्तरीय कविता प्रतियोगिता पनि आयोजना गरिएको थियो ।
कविता प्रतियोगितामा लिटिल बुद्ध एकेडेमीका आरती नाथ प्रथम, आदर्श माविका सन्ध्या बोहरा द्वितीय, महेन्द्रनगर नमुना माविका प्रतिज्ञा पन्त तृतीय र लक्ष्मी मावि बागफाटाका कुसुम जोशीले सान्त्वना स्थान हासिल गरेका थिए । राष्ट्र प्रेम शीर्षकमा आयोजित प्रतियोगितामा २८ जना विद्यार्थीहरू सहभागी रहेका थिए ।
भीमदत्त नगरपालिका – १८ ले प्रवर्द्धन गरेको कार्यक्रममा वडाध्यक्ष रवीन्द्र देवकोटा प्रमुख अतिथि रहेका थिए । प्रगतिशील लेखक संघ कञ्चनपुरका जिल्ला अध्यक्ष प्रजापति नेगीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधान सभा सदस्य पुरनसिंह दयाल, प्रगतिशील लेखक संघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम सह इन्चार्ज रमेश पन्त मितबन्धु, प्रगतिशील लेखक संघका निवर्तमान राष्ट्रिय परिषद् सदस्य/वर्तमान प्रदेश समिति सल्लाहकार जगदीश ओझा, गुगुल्डि वाङमय प्रतिष्ठान अध्यक्ष वीरबहादुर चन्द विश्राम, जनज्योति माविका प्रधानाध्यापक सुरेन्द्रराज जोशी, भारतीय साहित्यकार विवेक बादल, साहित्यकार नारायण लम्साल लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया जनाउनुहाेस्