बैतडीका किसानलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’

Image

बैतडी: बैतडीका तीन जना किसानलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरिएको छ।

बुधबार कृषि तथा पशुपालन क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका तीन जना किसानहरुलाई जिल्लास्तरीय ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरिएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त कार्यालय प्रमुख हरिदत्त जोशीले जानकारी दिए ।

तिनै जनालाई जनही २५ हजार रुपियाँ पुरस्कारसहित सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको  उनले बताए । ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ सुदूरपश्चिम प्रदेश सरकारले हरेक वर्ष प्रदान गर्दै आएको छ ।

पशुपन्छी तर्फ कुखुरा पालन व्यवसाय गर्दै आएका पाटन नगरपालिका–१० मदनराज भट्ट, कृषितर्फ मौरीपालन व्यवसाय गर्दै आएका दशरथचन्द नगरपालिका–५ का सुदर्शन प्रसाद लेखक र तरकारी खेती गर्दै आएका दशरथचन्द–४ का ममता टोक्टरे माललाई सम्मान गरिएको जोशीले बताए ।

उत्कृष्ट किसानको रुपमा सम्मानीत हुन पाउँदा खुसी लागेको बताउदै मालले कृषि पेसामा लाग्न थप हौसला बढेको बताइन् ।

प्रदेश सरकारको नीति अनुसार प्रत्येक जिल्लाका उत्कृष्ट किसानलाई पुरस्कृत गर्ने कार्यक्रम अनुसार उनीहरुलाई पुरस्कृत गरिएको हो । कृषि तथा पशुपालनको क्षेत्रमा काम गर्दै आएकाले किसानहरुलाई पुरस्कृत गर्दा अरुहरुलाई पनि यसतर्फ आर्कषण बढ्ने जिल्ला समन्वय समिति बैतडीका प्रमुख खग्रेन्द्रसिंह धामीले बताए ।

प्रतिक्रिया जनाउनुहाेस्