काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) टिम रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) सबैभन्दा मूल्यवान फ्रेन्चाइज बनेको छ । आरसिबीको ब्रान्ड मूल्य हाल २६९ मिलियन डलर पुगेको छ, जसले चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सलाई उछिनेको हो।
बेंगलुरुले यस सिजन आईपीएलको उपाधि पहिलोपटक जितेको थियो । सन् २०२५ को आईपीएलले पनि व्यापारिक मूल्य र ब्रान्ड मूल्य दुवैमा उल्लेखनीय वृद्धि गरेको छ।
लगानी बैंक हुलिहान लोकीले प्रकाशित गरेको प्रतिवेदनअनुसार आईपीएलको कुल व्यापारिक मूल्य १३ प्रतिशत बढेर १८.५ अर्ब डलर पुगेको छ भने ब्रान्ड मूल्य १४ प्रतिशतले बढेर ४ अर्ब डलर पुगेको छ।
ब्रान्ड भ्यालु अनुसार मुम्बई अहिले २४२ मिलियन डलरसहित दोस्रो स्थानमा छ भने तेस्रो स्थानमा चेन्नईको २३५ मिलियन डलर छ । चौथोमा कोलकाता नाइट राइडर्स २२७ मिलियन डलरसहित रहेका छन्।
संगठित आर्थिक मोडेल, सीमित तलब खर्च (प्रति टिम १२० करोड) र बलियो मिडिया अधिकारको कारणले आईपीएल विश्वकै सबैभन्दा लाभदायक खेल लिगहरूमध्येमा पर्न थालेको छ। रिपोर्ट अनुसार शीर्ष फ्रेन्चाइजहरूले वार्षिक रूपमा ६५०–७०० करोड रुपैयाँ कमाउने गर्छन्।
आईपीएलले विश्वभर छोटो फर्म्याटका लिगहरू सुरु गराउने प्रेरणा दिएको र आधुनिक क्रिकेट तालिकामा समेत परिवर्तन ल्याएको बताइएको छ। यसको अन्तर्राष्ट्रिय पहुँच, डिजिटल भ्युअरशिप र नगद प्रवाहका कारण अब विश्वका ठूला लगानीकर्ताहरू पनि आईपीएलमा रुचि देखाउन थालेका छन्।























