बैतडीको पाटनमा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरु

Image

बैतडीको पाटन नगरपालिकामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस दिन थालिएको छ । मङ्गलबारदेखी नागरिकताको प्रमाण पत्रका लागि अनलाइनबाट सिफारिस दिन सुरु गरिएको हो ।

पाटनका १० वटै वडाबाट नागरिकता सिफारिस अनलाइनको माध्यमबाटै संचालन भइरहेको पाटनका सूचना प्रविधी अधिकृत हिकेश बिष्टले जानकारी दिए । अनलाइन प्रणाली सुरु भएपछि अभिलेखीकरणमा सहजता, सेवा प्रवाहमा छरितो र प्रविधिमैत्री सेवा प्रवाह भएको सूचना प्रविधि अधिकृत बिष्टले बताए ।

अनलाइनको माध्यमबाटै सिफारिसको काम हुने भएपछी सेवाग्राहीलाई सहज सेवा हुने अपेक्षा गरिएको पाटन नगरपालिकाका सामाजिक समिती सयोजक हरिस बिष्टले जानकारी दिए ।

जिल्लाका ६ ओटा स्थानीय तहहरुमा अनलाइन प्रणालीबाट नागरिकता सिफारिसको काम सुरु भएको जिल्ला प्रशासन कार्यालय बैतडीका कम्प्युटर सुरेन्द्रदेव भट्टले जानकारी दिए । पाटन, दशरथचन्द, मेलौली, पुर्चाैडी नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा अनलाइनबाट नागरिकता सिफारिसको सुरु भैसकेको उनले बताए ।

नयाँ नागरिकता तथा नागरिकताको प्रतिलिपी लागि वडाबाटै अनलाइनको माध्यमबाट सिफारिस गर्न सकिने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

सेवाग्राहीलाई काजगात नमिलेर कार्यालयमा पुगेर खाली हात फिर्ता हुने झन्झटको अन्त्य भएको बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।प्रविधिको प्रयोग बढाउदै कार्यालयका सेवाहरुलाई प्रविधिमैत्री बनाउन र सेवाग्राहीहरुको सहजताका लागि नागरिकताको सिफारिस अनलाइन प्रणालीबाट दिन सुरु गरिएको उनले जानकारी दिए ।

“नागरिकताको सिफारिस अनलाइनबाट दिन थालेपछि सेवाग्राहीलाई आवश्यक कागजात पुगे नपुगेको त्यही बेला वडा कार्यालयमै थाहा हुन्छ” प्रजिअ उपाध्यायले भने “त्यसकारण कागज कार्यालयमा पुगेर सेवाग्राहीले फिर्ता हुनुपरेन ।”

जिल्ला प्रशासन कार्यालयले बाँकी रहेका स्थानीय तहहरुमा पनि यो सेवा सञ्चालनको तयारी गरेको छ । वैशाख महिनाभित्र वडाअध्यक्ष र वडासचिवहरुलाई अभिमुखिकरण तालिम दिएर असारसम्म सवै स्थानीय तहहरुका वडाहरुमा नागरिकताको सिफारिस अनलाइनको माध्यमबाटै गरिने प्रजिअ उपाध्यायले बताउनुभयो ।

प्रतिक्रिया जनाउनुहाेस्