डडेल्धुरा — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट भदौभित्रै ल्याउने गरी काम अघि बढाइरहेको बताएका छन्। बजेट शून्यताको अवस्था अन्त्य गर्दै भदौ मसान्तभित्रै बजेट ल्याउने गरी सरकारले गृहकार्य थालेको उनको दाबी छ।
नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री भट्टले २४ घण्टा काम गरेर भए पनि भदौ मसान्त कट्न नदिने गरी बजेट निर्माणको तयारी भइरहेको बताए। उनले नयाँ सरकारले बजेट पुनर्लेखनलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै अघिल्लो सरकारले ल्याएको बजेटका राम्रा पक्षलाई आत्मसात् गर्दै बेथिति देखिएका पक्षलाई सुधार गरिने पनि बताए।
अघिल्लो सरकारले आर्थिक वर्षका लागि ३७ अर्ब ७० करोड रुपैयाँको बजेट ल्याएको थियो। तर सरकार परिवर्तन र प्रदेशसभामा उत्पन्न राजनीतिक परिस्थितिका कारण बजेट पारित हुन नसकेपछि प्रदेशमा बजेट शून्यताको अवस्था सिर्जना भएको मुख्यमन्त्री भट्टको भनाइ छ।
उनका अनुसार अघिल्लो सरकारले सत्ता गठबन्धन जोगाउन नसक्नु, आफैंले प्रस्तुत गरेको बजेटसमेत पारित गराउन नसक्नु र प्रदेशसभामा आफ्नो पक्षमा स्पष्ट बहुमत नरहेको अवस्थामा पनि सत्ता हस्तान्तरणका लागि तयार नहुनुले अहिलेको अवस्था निम्तिएको हो।
उनले स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारलाई प्राथमिकतामा राखिने बताए। त्यसैगरी प्रदेशका पूर्वाधार विकासमा समेत काम अघि बढाउने उल्लेख गर्दै दैजी–जोगबुडा हुँदै चिरकिटे भएर डडेल्धुरा जोड्ने सडकलाई भीमदत्त राजमार्गको वैकल्पिक सडकका रूपमा सञ्चालन गर्न आवश्यक काम अघि बढाइने बताए।
मुख्यमन्त्री भट्ट बुधबार जिल्ला समन्वय समितिको हलमा आयोजना हुने जिल्ला सभा तथा वार्षिक समीक्षा कार्यक्रममा सहभागी हुन गृह जिल्ला डडेल्धुरा आएका हुन्। पत्रकार सम्मेलनपछि उनले उद्योग वाणिज्य संघ तथा जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरूसँग समेत अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।
गत साउन २९ गते सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री भट्टले पद तथा गोपनीयताको शपथ लिएका थिए। शपथ लिएपछि उनी पहिलोपटक गृहजिल्ला डडेल्धुरा आएका हुन् ।















