सुख्खायाम सुरु भएसंगै डढेलोको जोखीम बढ्यो

बैतडी: सुख्खायाम सुरु भएसंगै बैतडीमा वनमा डढेलोको जोखीम पनि बढेको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी नरेश कर्णले मानविय लापरवाहीका कारणले गर्दा डढेलोको जोखीम बढेको बताउनुभयो ।

वन क्षेत्रमा लाग्ने डढेलो न्यूनीकरण तथा नियन्त्रणका लागि सचेतना फैलाउन विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको भएपनि कमी आउन नसकेको उहाँको भनाई छ। नयाँ घाँस पलाउने लोभमा आगो लगाउने तथा आगोको जथाभावी प्रयोगले वनमा डढेलोको जोखीम बढेको सूचना अधिकारी कर्णले जानकारी दिनुभयो ।

“बैतडीमा झन्डै ८५ प्रतिशत क्षेत्र सल्लेरी वनले ओगटेको छ”, उहाँले भन्नुभयो, “सल्लेरी वनमा डढेलोका जोखीम पनि बढी हुने र उक्त क्षेत्रमा फैलिएको डढेलो नियन्त्रण गर्न पनि समस्या हुने गरेको छ ।”

डढेलो नियन्त्रयका लागि कार्यालय मातहतका सव डिभिजन वन, वन समूह मार्फत सचेतना फैलाउने काम भैरहेको उहाँले जानकारी दिनुभयो । यस्तै अग्नि नियन्त्रक सामग्री खरिदको प्रक्रियामा रहेको कर्णले बताउनुभयो ।

डढेलोको जोखिम नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्न वन डढेला सप्ताह अन्तर्गत सप्ताहव्यापी कार्यक्रम सञ्चालन भैरहेका डिभिजन वन कार्यालय बैतडीका प्रमुख भक्तराज गिरीले बताउनुभयो । डढेलोका कारण लाखौँका वनसम्पदा, वन्यजन्तु नष्ट हुने, मानवीय क्षति सँगै वातावरणमा प्रभाव पर्ने भए पनि डढेलो नियन्त्रणका विषयमा समुदायस्तरमा चेतनाको कमी रहेको उहाँले बताउनुभयो ।

गत वर्ष करिव १२ सय हेक्टर क्षेत्रफलमा डढेलो लागेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्